६ चैत, काठमाडोैं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रश्ताव गरेको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ। उनले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए।
उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने जिकिर गरे।
उनले भने, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो। निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो। त्यही बेलामा एमालेबाट प्रश्ताव आयो। त्यो प्रश्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ। अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं।’
जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ।