|  

डडेलधुरमा देउवा र आरजुसहितका नेतालाई बहिष्कार गर्ने वडाअध्यक्षकाे चेतावनी

०७ चैत, काठमाडौं । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले प्रदेश र संघीय सांसदलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

डडेल्धुराबाट बैतडीको मेलौली जोड्ने उग्रतारा-मैलौली सडकखण्डको बसना खोलामा सडक कालोपत्रे भएको तीन वर्षसम्म पनि पुल निर्माण नभएपछि उनले यस्तो चेतावनी दिएका हुन । वडाध्यक्ष भट्टले भनेका छन्, ‘स्वीकृतको कुनै अत्तोपत्तो छैन । यो वर्ष पनि निराश पार्ने हो भने खबरदार माननीय खगराज भट्टज्यू, माननीय डा. तारा जोशीज्यू, माननीय सरस्वती खडकाज्यू, माननीय गीता मालज्यू र आदरणीय माननीय शेरबहादुर देउवाज्यू र डा. आरजु राणाज्यू, अजयमेरु गाउँपालिका-२, चमडामा बसना गाड तरेर आउने कुचेष्टा नगर्नुहोला । यहाँहरू सबैलाई बहिष्कार गरिनेछ ।’

साथै, विरोधस्वरुप वडाका सबै बासिन्दाबाट चन्दा संकलन गरेर प्रदेश र प्रतिनिधिसभाका सांसदलाई खाजा खर्च पठाउने पनि वडाध्यक्ष भट्टले बताएका छन् ।