०७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ-गाउँमा सिंहदरबार पुर्याएको दाबी गरेका छन् ।
नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे । उनले भने, ‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन् । जनतालाई सेवा दिने नजिकको सरकार यही हो । स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’