|  

गणतन्त्र जनताको पक्षमा रुपान्तरण हुन सकेनः विप्लव

७ चैत, काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको पक्षमा गणतन्त्र रुपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि देखिएको बताएका छन्।

विराटनगरमा बिहीबार आयोजित वर्तमान राजनीति र समाजवादको यात्रा विषयक अन्तरसंवादका क्रममा उनले गणतन्त्र जनताको पक्षमा उभिन नसक्दा सबैमा चरम असन्तुष्टि देखिएको बताए।

उनले राजतन्त्रलाई गणतन्त्रको विकल्पका रुपमा हेर्न नसकिने उल्लेख गरे। उनले भने, ‘राजतन्त्र चुनौती भए पनि यो प्रणाली गणतन्त्रको विकल्प भने होइन। जनताको समस्याको समाधान गर्न नसक्दा नै अहिलेको परिस्थिति आएको हो। त्यसैले राजा फर्किनु देशका लागि पश्चगामी दुर्घटनासिद्ध हुनेछ।’

अन्तरसंवादका क्रममा उनले मुलुकमा गणतन्त्र आए पनि सम्पत्ति र राजनीतिको अधिकार जनतासम्म आउन नसकेको उल्लेख गरे।

उनले भने, ‘हालको अवस्थामा व्यवस्था चलेन भनिए पनि त्यसको विकल्पका विषयमा जनस्तरमा अलमल देखिएको छ। यसैका कारण राजाप्रति आकर्षण बढ्दै गएको हो।’

उनले चैत १५ गते समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रम राजावादी आन्दोलनलाई दबाउन वा मुडभेड गर्ने उद्देश्यले प्रेरित नभएको स्पष्ट पारे।