७ चैत, काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने भएको छ । राजावादीहरुले आन्दोलनको घोषणा गरेपछि एमालेले पनि केन्द्रीय सचिवालयको निर्णयअनुसार देशव्यापी रुपमा प्रदर्शन गर्ने तयारी गरेको हो ।
एमालेले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरका सबै वडामा जनसचेतना कार्यक्रम घोषणा गरेको छ ।
महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट बिहीबार सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।
एमालेले तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको बेला चैत ११ देखि ३० सम्म कार्यक्रम परिमार्जन गरी सबै प्रदेश र जिल्लामा संघीय गणतन्त्रको पक्षमा जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल र्याली, चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा, चैत २४ देखि ३० धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रम तय गरेको एमालेले जनाएको छ ।
महासचिव पोखरेल सचिवालयका अनुसार प्रदेश तहमा हुने विशेषसभामा पार्टी केन्द्रबाट वक्ताले सम्बोधन गर्नेछन् । एमाले सचिवालयको चैत ४ गतेको ४६ औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयमा भनिएको छ- ‘पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ ।'
राजावादीहरुको सक्रियता र आन्दोलनको घोषणा पछि समाजवादी मोर्चाले चैत्र १५ गते प्रदर्शन गर्दै छ ।