|  

महायज्ञको बहानामा दलित भएकै कारण घर भत्काइनु अत्यन्त दुःखद्ः शेखर कोइराला

८ चैत्र, काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सिराहामा भएको जातीय विभेदको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

कोइरालाले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जातीय विभेदकै कारण कसैको घर भत्काइनु वा जातीय पीडा दिनु निन्दनीय भएको बताएका हुन् । उनले देशले राजनीतिक रूपले ठुलो फड्को मारिसके पनि यस्ता अमानवीय घटनाहरू भइरहनु दुःखद् भएको उल्लेख गरेका छन् ।दोषीलाई दण्डित नगरेसम्म यस्ता घटनाहरू रोक्न नसकिने उनको भनाइ छ । दोषीलाई कारवाही गर्न ढिलाइ गर्न नहुने उनले बताए ।

‘देशले राजनीतिक रूपमा ठुलो फड्को मारिसक्दा पनि महायज्ञ वा अरू कुनै बहानामा दलित भएकै कारण घर भत्काइनु वा जातीय पीडा दिनु अत्यन्त दुःखद् र निन्दनीय छ । जबसम्म यस्ता कृयाकलाप गर्नेहरू राजनीतिक रूपमा संरक्षित भएका कारण दण्डित हुँदैनन्, तबसम्म यस्ता घटनाहरू भइरहन्छन् । सिराहा घटनाका दोषीलाई कारवाही गर्न ढिला नगरौं,’उनले लेखेका छन् । यसअघि महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको समाचार सार्वजनिक एको थियो ।