|  

नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत छैनः परराष्ट्रमन्त्री डा.आरजु

०८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताएकी छन् ।

भारतको औपचारिक भ्रमण पूरा गरी आजस्वदेश फर्किएकी उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताए । नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरुको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उनको भनाइ छ । उनले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरे । उनले भने, ‘यहाँको पोलिटिकल गतिविधिका बारेमा खासै त्यस्तो कुरा गरेनौँ । तर उहाँहरुको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने चाहिँ उहाँहरुको हरेक गतिविधिबाट त्यो कुरा बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज हुनुहुन्छ, उहाँको ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरिन मिनिस्ट्री सरकारको सिस्टमै चेन्ज हुने भन्ने जस्तो आशय  मैले देखेको छैन ।’

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताइन । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ । पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको बताइन ।