|  

एसईईः विद्यालयको पर्खाल नाघेर चिट चोराइएको भिडिओ सामाजिक सञ्जालमा भाइरल

९ चैत्र, काठमाडौं । बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा चिट चोराइरहेको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

विभिन्न विद्यालय बाहिरबाट एसईई दिइरहेका विद्यार्थीहरूलाई चिट पुर्‍याइरहेको देखिने भिडिओ टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा भाइरल बनेका छन् । एक भिडिओमा मधेश प्रदेशका केही स्थानमा चिट चोराइएको आशयसहितका दृश्य देख्न सकिन्छ ।

भाइरलमध्ये एक भिडिओमा विद्यालयको पर्खालमा चढेर एक युवकले चिट पास गरिरहेका छन् । उक्त भिडिओ रौतहटको मौलापुर नगरपालिका–६, पथराबुधामस्थित श्री माध्यमिक विद्यालयको भएको देखिन्छ । गेटबाहिर युवाहरूको ठुलो समूह बसिरहेको देखिन्छ । यस्तै, अर्को भाइरल भिडिओमा चिट पुर्‍याउन युवाहरू पर्खाल नाघेर विद्यालयको माथिल्लो तलासम्म पुगेको देख्न सकिन्छ ।

उक्त भिडिओ महोत्तरीको भएको बताइएको छ । त्यस्तै, कक्षाकोठाभित्र भुइँमा विद्यार्थीहरूले चिट छरपस्ट फालेको दृश्य देखिने अर्को भिडिओ पनि भाइरल भइरहेको छ ।बिहीबार बिहान ८ बजेदेखि अङ्ग्रेजी विषयको परीक्षा सुरु भएको थियो । परीक्षा सुरु भएको एक घण्टाभित्रै अङ्ग्रेजी विषयको प्रश्नपत्र फेसबुकमा भाइरल भइसकेको थियो ।