|  

इलाममा जब जिउँदै गोरुको फिला काटेर ४ किलो मासु निकालियो......

९ चैत्र, काठमाडौं । इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ ।

उक्त गोरुको एक पाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्रोतले जनाएको छ । सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो ।

तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको हो। गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको थियो ।यसअघि उनै राईको एक हल गोरुको फिला काटेर लगेको थियो । त्यसमध्ये एउटा गोरु पनि मरिसकेको छ ।

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, उनीहरुले यसको संकेत पाउन नसकिएको भन्दै घटनालाई सामसुम बनाएका थिए ।