|  

पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था ठिक भएनः स्वास्थ्यमन्त्री पाैडेल

०९ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन ।

नेपाली कांग्रेस बाँकेले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था ठिक नभएको बताएका हुन । उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए । उनले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।