|  

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ खनाल

९ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तामा पुगेकाहरूको विकृत र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्र बदनाम भइरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०६२/०६३ को जनआन्दोलनले आम नागरिकको जीवनस्तर उकास्ने, देशमै उद्योगधन्दा स्थापना गरी रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको स्मरण गराए।

तर सत्तामा पुगेकाहरूले जनताको आशा र भरोसा कुल्चिएको उनको आरोप छ। नेता खनालले भने, ‘क्रान्तिमार्फत जनताले जुन सपना देखेका थिए, त्यसलाई सत्तामा पुगेकाहरूले कहिल्यै पनि वास्ता गरेनन्। अहिले त्यसको परिणाम देशले भोगिरहेको छ।’

उनले अहिलेका नेताहरु दलाल पुँजीपति वर्गका दलालीमा रमाइरहेको टिप्पणी गरे। ‘कम्युनिस्ट पार्टीको नाम राखे पनि दलाल पुँजीपति वर्गका दलाली गर्ने बाहेक अरू केही छैनन्। कमिसनको खेलमा नेताहरू बिक्री भइरहेका छन्, रातारात किनबेच भइरहेका छन्,’ खनालले कटाक्ष गरे।

दलाल प्रवृत्तिका कारण देशमा विकृति र विसंगति मौलाउँदै बताउँदै उनले गणतन्त्र र लोकतन्त्रलाई बदनाम बनाउँदै लगिएको जिकिर गरे। उनले थपे, ‘हामीले गणतन्त्र ल्याएको दलाल पुँजीपति वर्गको सेवा र निर्देशनमा चल्न होइन, श्रमिक, किसान र आम जनताको हितमा काम गर्न हो।’

क्रान्तिको मूल उद्देश्य देशको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, भूमि सुधार ल्याउने, राष्ट्रिय कच्चापदार्थमा आधारित उद्योग स्थापना गर्ने र राष्ट्रियतालाई सुदृढ बनाउने रहेको खनालले स्मरण गराए। तर अहिले त्यो सपना अधुरै रहेको उनको गुनासो छ।

उनले सत्तामा पुगेकाहरूको नीतिहीनता र अकर्मण्यताकै कारण प्रतिगामी शक्तिहरू पुनः सक्रिय बन्ने अवसर पाएको बताए। ‘अब ढिलो नगरी प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गरेर देशलाई आमूल परिवर्तनको दिशामा लैजान पहलकदमी थाल्नुपर्छ,’ खनालको जोड थियो।