९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा पुगेको बताएका छन ।
शनिवार मधेस प्रदेशको जनकपुरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन । उनले देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा रहेको बताए । उनले राज्यले उठाउने राजश्वले नेता तथा कर्मचारीलाई तलबभत्ता खुवाउन नपुग्दा वैदेशिक ऋण लिनुपर्ने दुःखद् अवस्था रहेको बताए । उनले संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब ऋण भएकोमा एक दशकमा ऋण बढेर २६ खर्ब ७६ अर्ब पुगेको बताए ।
उनले भने, ‘देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा छ । र हामी हाम्रो समयकै खराब अवस्थामा छौँ । अहिले देशको राजश्वले अथवा देशले जति पैसा उठाउँछ राजश्व त्यसले नेताहरुलाई कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पुग्दैन । कर्मचारी र नेतालाई तलब भत्ता खुवाउनका लागि हरेक महिना राज्य ऋण लिनुपर्ने अवस्था छ । भनेपछि सरकारले देशको अर्थतन्त्र जतिसुकै राम्रो छ भने पनि देशको अवस्था के छ भन्ने कुरा यही कुराले बताउँछ । जब हाम्रो आम्दानीले देशको साधारण खर्च पुग्दैन भने देशको अवस्था ठिक छ ? यो संघीयता कार्यान्वयन हुनु भन्दा अगाडि अर्थात यो संविधान जारी हुनुभन्दा अगाडि देशको ऋण ६ खर्बमा थियो । आर्थिक वर्ष २०७२÷७३ मा हाम्रो ऋण राष्ट्रिय ऋण ६ खर्ब १५ अर्ब थियो, अहिले यहाँ पुग्दा हाम्रो राष्ट्रिय ऋण २६ खर्ब ७६ अर्ब पुग्यो ।’
अध्यक्ष लिङदेनले आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न कारणले देशको अवस्था चौपट रहेको बताए । उनले देश असफल राष्ट्रको दिशामा अग्रसर भइरहेकाले समयमै खबरदारी गर्नुपर्नेमा जोड दिए ।