१० चैत, काठमाडाैं । राष्ट्रिय मातृभूमि अभियान्ता डा.भीम रावलले ओली सरकारको काम देश हितमा नभएको आरोप लगाएका छन् ।
एमालेबाट निकालिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोख्दै आएका रावलले यस्तो आरोप लगाएका हुन् । उनले ओली नेतृत्व सरकारका उद्योग मन्त्री दामोदर भण्डारी, ऊर्जामन्त्री दीपक खड्का र परराष्ट्र मन्त्री आरजु देउवा राणामाथि प्रश्न उठाउँदै भनेका छन, ‘नाफाखोरी र कालोबजारी नियन्त्रण गर्ने एउटा कानुनी प्रावधानलाई अध्यादेशबाट हटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मार्फत सिमेन्ट र डन्डीमा कृत्रिम रूपमा चर्को मूल्य वृद्धि गराएर अनुचित लाभ उठाएको भन्ने जनआवाजबारे प्रधानमन्त्री ओली किन मौन ? यसो गर्दा देशको विकास-निर्माण कार्य एवं जनजीवनमा के असर पर्छ भन्ने तर्फ प्रधानमन्त्रीको चासो देखिएन ।’
त्यस्तै स्वदेशी सुपारी उत्पादकलाई निर्यातमा सहुलियत दिनुको साँटो सुपारी आयात खुला गरिएको तथा ग्यास उद्योगीको कमिसन घटाउने उच्चस्तरीय समितिको सुझाव विपरीत व्यापारीको स्वार्थमा प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा वृद्धि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लैनचौर स्थिति स्काउटको जग्गा सत्ता र शक्तिको आडमा कौडीको भाउमा भाडामा लिनुका साथै थप नौ रोपनी जग्गा कब्जा गरेको तथा ५ करोड बढी रुपैयाँ भाडा नतिरेको र मिनाहा गराउनेतर्फ लागेको भन्ने समाचार प्रकाशित भएको तर्फ पनि प्रधानमन्त्री मौन बसेको बताए ।
त्यसैगरी नयाँ दिल्लीमा राइसिना डाइलग कार्यक्रममा एक दिन भाग लिन गए हुनेमा परराष्ट्र मन्त्री आरजु देउवा राणाद्वारा भारतमा झन्डै दुई हप्ता बिताइएको र यस अवधिमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने प्रयास गरिएको तर भेट हुन नसकेको तथा मन्त्री राणाले नेपालमा उत्पन्न राजनीतिक स्थितिबारे भारतीय परराष्ट्र मन्त्रीसँग भारतको धारणा बुझेको भन्ने समाचार आएको बताए । उनले यसलाई स्वाधीन देशको कूटनीतिक मर्यादा र असक्षमताको नमुना भनेका छन् ।
त्यस्तै, गठबन्धन सरकारका नेताहरूले नेपाल एक रुपैयाँ पनि ऋण लिनसक्ने स्थितिमा नरहेको भनी सार्वजनिक रूपमा घोषण गरेपनि आफ्नै घोषणा विपरीत ऋण लिएको बताए । उनले गत आठ महिनामा ३ खर्ब ३४ अर्ब ऋण लिइएकोमा वाह्य ऋण एक तिहाइ रहेको बताए ।