१० चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउन मात्रै नेपाली कांग्रेस र एमाले नमिलेको प्रष्ट पारेका छन् ।
आज प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख पार्टीको सहकार्य देशलाई अघि बढाउन भएको भन्दै मुलुक आर्थिक रूपमा संकटमा पुगेकाले लोकतन्त्रका लागि लडेका दल मिल्नु आवश्यक रहेको बताए । जनताको निराशालाई आधार बनाएर मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य नहुने उनको भनाई छ । राजाको शासनमा ३ खर्बको अर्थतन्त्र अहिले ५७ खर्बको भइसकेको बताउँदै उनले के यो गणतन्त्रको उपलब्धि होइन ? भन्दै प्रश्न गरे ।
उनले अब पञ्चायतको समयमा देश फर्किन नसक्ने पनि जिकिर गरे । भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था रहेको भन्दै उनले तथ्यका आधारमा बहस गर्नुपर्ने बताए । उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताए ।