|  

थुनुवा र कैदीबन्दीको मानव अधिकार सुरक्षाकाे ग्यारेन्टी सरकारले गर्छः गृहमन्त्री

१० चैत, काठमाडाैं । गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिवद्धता जनाएका हुन् । उनले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बताए । उनले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताउँदै देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको जानकारी दिए ।

उनले भने, ‘कुनैपनि हिरासतको मानिस थुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय व्यवहार गर्ने, निर्मम व्यवहार गर्ने, अथवा मानवअधिकारको हनन् गर्ने ढंगले काम गर्ने कुरा हुँदैन त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ । कुनैपनि व्यक्तिको मानव  अधिकार हनन गर्ने कुरा हुँदैन । तर अलिकता सीमित स्रोत साधनमा काम चलाउनुपर्ने केही समस्याहरु छन् यसका विषयमा पनि हामीले विशेष ध्यान दिएका छौँ । र यसमा हामी सुधार गछौँ । भौतिक सुधार गर्छौँ । केही कारागारहरु थप निर्माण गर्ने, जस्तो पछिल्लो अवस्थामा नुवाकोटको कारागार प्रचलनमा आएको छ । र त्यहाँ केही मान्छे थप्न सकिने अवस्था छ । जहाँ बढी  कैदीहरु हुनुहुन्छ त्यहाँका बन्दीलाई नुवाकोटमा लगेर राख्नका लागि कारागार व्यवस्था विभागले काम गरी रहेको छ । हिरासतमा रहेका मानिस, कारागारमा थुनुवाका रुपमा रहेका वा कैदीबन्दीका रुपमा रहेका मानिसको मानवअधिकारको पूर्ण सुरक्षा गन्छि, त्यसका बारेमा हामी गम्भीर छौँ,सचेत छौँ र गर्छौँ ।’