१० चैत, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारले संविधान विपरीत गतिविधि नगर्ने विश्वास व्यक्त गरेका छन् ।
काभ्रेपलाञ्चोकको पनौतीमा सक्रिय महिला कृषि सहकारी संस्थाद्वारा स्थापित शीतभण्डारको आज उद्घाटन एवं स्थानीय कृषि उत्पादन प्रदर्शनी कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार जनता केन्द्रित भएर काम गरिरहेकाले संविधान विपरीत गतिविधि नगर्ने विश्वास दिलाए । मन्त्री अधिकारीले सरकारले कृषि उत्पादनमा देखिएका कृषि बजारीकरण तथा प्रवद्र्धनलगायत किसानका समस्या योजनाबद्ध रूपमा समाधान गर्दै जाने बताए ।
उनले दुग्ध किसानका समस्या समाधान हुँदै गएकाे भन्दै अन्य क्षेत्रका समस्या पहिचान गरी समाधान गरिने प्रतिबद्धता समेत जनाएका छन् । मन्त्री अधिकारीले कृषिमा विषादी न्यूनीकरण तथा रासायनिक मल व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउने बताउँदै एकै पटक विषादी प्रयोग बन्द गर्न नमिल्ने भएकाले प्रयोग गर्नै परे सावधानी अपनाउन किसानलाई आग्रह गरे । आगामी वर्षका लागि मल व्यवस्थापनमा छुट्याएको २७ अर्बमध्ये २० देखि २२ अर्ब रुपैयाँ सम्मको मल खरिद गरेर बाँकी रकमले किसानलाई घरमा प्राङ्गारिक, जैविक र जीवाणु मल उत्पादन गर्न लगाइने मन्त्रालयस्तरमा छलफल भइरहेको अधिकारीले बताए ।