|  

जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको मन्त्री पौडेलको भनाई

१० चैत, काठमाडौं । स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको बताएका छन् ।

जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको भन्दै उनले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर बीमा सेवालाई निरन्तरता दिन नसक्ने बताउँदै उनले निजी क्षेत्र लगायतको यसमा सहयोग आवश्यक रहेको बताए । सरकारसँगै बीमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बीमा बोर्डमा जग्मा गर्नसक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले बीमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीलाई अघि सारेको बताए । बीमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आइरहेकाले त्यसमा सुधारको आवश्यकता औँल्याउँदै उनले भने,‘स्वास्थ्य बीमा क्षेत्रमा केही विकृति देखिएका छन् । उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन । यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ ।’ 

साथै, मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।