१० चैत, काठमाडाैं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् ।
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’
साथै, बालेनले आफूलाई हराउने नाममा सहर, क्षेत्र र देश चाहिँ नहराउन आग्रह गरेका छन् ।
‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली काँग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’