११ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व प्रतिद्वन्द्वी कमला ह्यारिस र हिलारी क्लिन्टनको सुरक्षा स्वीकृति (सेक्युरिटी क्लियरेन्स) खारेज गरेका छन् ।
सुरक्षा स्वीकृति खारेज भएपछि उनीहरूको गोप्य सूचनामा पहुँच हुनेछैन भने संवेदनशील सरकारी निकायहरूमा एक्लै जान पनि पाउने छैनन् । राजनीतिक विरोधीहरू माथि प्रतिशोधको अभियान विस्तार गर्दै ट्रम्पले शुक्रबार पूर्व उपराष्ट्रपति ह्यारिस, र पूर्व प्रथम महिला तथा विदेश मन्त्री क्लिन्टनलाई संवेदनशील सरकारी सूचनामा पहुँचबाट वञ्चित व्यक्तिहरूको सूचीमा समावेश गरिने घोषणा गरेका हुन् ।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा क्लिन्टनलाई र २०२४ मा ह्यारिसलाई पराजित गरेका थिए । ट्रम्पको सूचीमा पहिलो कार्यकालमा उनको सरकारका लागि काम गरेकी रूस विज्ञ फियोना हिल पनि समावेश छिन् । हिलले ट्रम्पको पहिलो कार्यकालमा उनको युक्रेन युद्धप्रतिको दृष्टिकोणको आलोचना गरेकी थिइन्। अहिलेको ट्रम्पले युद्ध रोक्न अपनाएको रूसलाई फाइदा हुने नीतिको पनि आलोचना गर्छिन्।