|  

बीवाईडीले ल्यायो ५ मिनेटमै ईभी फुल चार्ज हुने प्रविधि, टेस्लालाई धक्का

११ चैत, काठमाडाैं। चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडीले पाँच मिनेटमै पूर्ण रूपमा चार्ज हुने प्रविधि सार्वजनिक गरेको छ ।

ईभी चार्जिङमा लाग्ने समयलाई कम गर्ने योजनासहित कम्पनीले यो प्रविधि सार्वजनिक गरेको हो ।बीवाईडीका संस्थापक वाङ चुआनफुले मार्च १७ मा शेन्जेनमा आयोजित एक कार्यक्रममार्फत नयाँ प्रविधिको घोषणा गरे । सो अवसरमा उनले भने, “अब ईभी चार्जिङलाई लामो प्रतीक्षाको विषय बनाउनुपर्दैन । पेट्रोल भर्ने जति समयमै ईभी फुल चार्ज हुनेछ ।” कम्पनीले सार्वजनिक गरेको नयाँ १ मेगावाटको फ्ल्यास चार्जरमार्फत गाडीलाई ५ देखि ८ मिनेटभित्रै पूर्ण चार्ज गर्न सकिने दाबी गरिएको छ । यसअघि टेस्लाले १५ मिनेटमा ३२० किलोमिटर रेन्जको चार्ज प्रदान गर्ने सुपरचार्जर ल्याएको थियो । बीवाईडीको प्रविधिले भने ४०० किलोमिटर रेन्जका लागि पर्याप्त चार्ज उपलब्ध गराउने बताइएको छ ।बीवाईडीले सुपरफास्ट चार्जिङ सुविधाका लागि चीनभर चार हजारभन्दा बढी अल्ट्रा-फास्ट चार्जिङ युनिट निर्माण गर्ने योजना ल्याएको छ ।

साथै ​सुपरचार्जिङ प्रविधिसहितका नयाँ मोडेलहरू हान एल सेडान र ताङ्ग एल एसयूभी सार्वजनिक गरिसकेको छ । यी मोडेलहरूको प्रि-बुकिङ सुरु भइसकेको छ भने कम्पनीले आगामी महिनादेखि गाडी डेलिभरी गर्ने जनाएको छ ।

यसैबिच सुपरचार्जिङ प्रविधि सार्वजनिक भएपछि बीवाईडीको शेयर मूल्य बढेको छ । आर्थिक विश्लेषकहरूका अनुसार यो प्रविधि घोषणा भएको भोलिपल्ट नै हङकङ स्टक एक्सचेन्जमा बीवाईडीका शेयर ६ प्रतिशतले उकालो लागेको थियो । त्यहीबेला टेस्लाको शेयर झन्डै ५ प्रतिशतले घटेको थियो । टेस्लाको चीनस्थित बिक्री ४९ प्रतिशतले घटिसकेको छ, जसका कारण कम्पनी हाल चीनको ईभी बजारमा चौथो स्थानमा झरेको छ । ​विश्लेषकहरूका अनुसार बीवाईडीको नयाँ प्रविधिले ईभी बजार थप प्रतिस्पर्धी बन्नेछ ।

बीवाईडीले २०२४ मा १७ लाख ७७ हजार युनिट पूर्ण विद्युतीय गाडी बिक्री गरेको थियो भने प्लग-इन हाइब्रिड सहित कुल ४२ लाख युनिट बिक्री गरेको छ । २०२५ भित्र ५० देखि ६० लाख युनिट ईभी बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।