१२ चैत्र, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय गरेको बताएका छन् ।
सोमबार मन्त्रिपरिषद्बाट कार्यकारी निर्देशक नियुक्त भएसँगै शाक्यले सरकारले आफूलाई पुरानो योजना पूरा गर्ने अवसर दिएको बताए । आफूले यसअघि प्राधिकरणको कार्यकारी निर्देशक भएर पनि काम गर्न नपाएको उल्लेख गर्दै उनले अब ती योजनाहरू पूरा गर्नतर्फ लाग्ने समेत बताए ।
यद्यपि आफूले नियुक्तिको पत्र भने पाइनसकेको उनको भनाइ थियो । शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ नहुने समेत प्रस्ट पारेका छन् । बरु उद्योगमा भइहरेको लोडसेडिङको समयलाई न्यूनीकरण गर्ने आफ्नो प्रयास रहने उनको भनाइ थियो ।
‘लोडसेडिङ भन्ने कुरा कोही भएर हुने, कोही नहुने भन्ने हुँदैन । लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो । पर्याप्त बिजुली भयो भने लोडसेडिङ पनि नहुने हो ।,’ उनले भने, ‘घरघरमा लोडसेडिङ हुने सवालै छैन । उद्योगमा जसरी लोडसेडिङ भइरहेको छ, त्यसलाई हटाउने चाहिँ सूत्र मैले फलोअप गरिरहेको छु ।’