|  

कुलमानमाथि अर्बौं घोटाला गरेको अभियोगमा छानविन सुरु 

१२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्तीसँगै सरकारले कुलमान घिसिङको संलग्नताका विभिन्न आयोजनामा भएको अर्बौं घोटालाको विषयमा छानविन थालेको छ ।

संसदको सार्वजनिक लेखा समितिले कुलमानमाथिको अर्बौं रुपैयाँको घोटालामा छानविन सुरु गरेको छ । लेखा समितिले संसद सदस्य प्रेमबहादुर आलेको संयोजकत्वमा अमनलाल मोदी र श्यामकुमार घिमिरे सदस्य रहेको उपसमिति गठन गरेर कुलमानले नेतृत्व गरेको प्राधिकरणका आयोजनामाथि छानविन सुरु गरेको हो । लेखा समितिमा नेपाल विद्युत प्राधिकरणविरुद्ध ६ वटा उजुरी परेका छन ।

विद्युत प्राधिकरणका विभिन्न आयोजनाबाट गरिएका बोलपत्र एकैप्रकारका भए पनि १ अर्ब रुपैयाँभन्दा कमको प्याकेज बनाई ठेकेदारसँग मिलेमतो गरी फलामजन्य सामग्रीको मूल्य अस्वभाविकरूपमा बढाएर खरिद सम्झौता गरी राज्यलाई अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको विषयमा छानविनको माग गर्दै उजुरी परेको थियो । हेटौँडा ढल्केबर इनरुवा ४०० केभी विद्युत प्रसारण लाइन निर्माणमा अनियमितता भएको भन्दै सरिता गिरीले समितिमा उजुरी हालेकी छिन ।

प्राधिकरणमा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयानुसार पुनः मूल्याङ्कन गर्दा साविकको समितिबाट गराउनुपर्नेमा आफ्नो निकटको निर्देशकको संयोजकत्वमा नयाँ मूल्याङ्कन समिति गठन गरी भ्रष्टाचार गरेकोले छानविन गर्नुपर्ने भन्दै रमेशबहादुर स्वाँरको उजुरी समितिमा परेको छ ।