|  

शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई

१२ चैत, काठमाडाैं । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यक रहेको बताएका छन् ।

आज शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताए । राज्य र विश्वविद्यालयबीचको सम्बन्ध के हो भनेर परिभाषित हुने खालको ऐन आजसम्म बनाउन नसकिएको उनकाे भनाइ छ । उनले विश्वविद्यालयहरुलाई खुला रुपमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताए । उनले जे गर्दा पनि अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्ने समस्याको कारण वैज्ञानिकहरु समस्यामा परेको बताए ।

उनले भने, ‘हामीले जतिपनि अहिलेसम्म शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौं । त्यसको गुणस्तरमा हामीले केही पनि गर्न सकेका छैनौं । आजसम्म हामीले एउटा नियम पनि बनाएका छैनौं । हामी बल्ल विश्वविद्यालयका मात्र ऐनहरु बनाइरहेका छौं । तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो त ? भन्ने ऐन त हामीले आजसम्म बनाएका छैनौं । हामीले हरेक कुराको अर्थ मन्त्रालयबाट अनुमति लिनुपर्ने भनेका हुन्छौं । आज नास्टका कतिपय वैज्ञानिकहरु अर्थ मन्त्रालयले अनुमति नदिँदा अप्ठयारोमा हुनुहुन्छ । वैज्ञानिकहरुले आफूलाई चाहिने टुल टेक्निक ल्याउँदा सरकारले रोक्ने अवस्था छ । जसरि हामी युवाहरुलाई बाहिर लैजाउँ भन्ने जुन आशय छ त्यो असाध्यै राम्रो छ । त्यसलाई दिगो रुपमा सम्बोधन गर्नेगरी ऐन बनाउनुपर्छ ।’

युवाहरुलाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको ऐन बनाउनुपर्नेमा उनको जोड छ ।