१२ चैत, काठमाडौं । मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए । उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए । उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन भने तराईबाट २८।९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले बताए । उनले बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको जानकारी दिए । यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ ।
उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरे । प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७।८ र ६।९ प्रतिशत रहेको बताए । अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताए । समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालय मंगलवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो । ग्रामिण क्षेत्रको कोरा जन्मदर १५।७ छ भने शहरी क्षेत्रको १३।६ रहेको छ ।