१२ चैत, काठमाडौं । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ ।
निर्माण कम्पनी अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको कम्पनीले जनाएको छ । फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा छन् । फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केको निर्माता सरोज न्यौपानेले बताएका छन् ।
अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा प्रमुख अभिनयमा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन । बाल कलाकार हुँदै कलाकारितामा प्रवेश गरेका अनमोलले ‘स्टार’को ट्याग पाइसक्दा अनमोल र भुवनलाई एकसाथ स्कृनमा देख्न आतुर दर्शकलाई यो फिल्म उपयुक्त अबसर बन्नेमा निर्माण टिम विश्वस्त छ ।
कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो ।