|  

सरकार विरोधी सबै कार्यक्रममा रास्वपाको ऐक्यबद्धता

१२ चैत, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियत पूर्वक बर्खास्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्र सेवकलाई बक्यौता रकम उठाउन नदिने षडयन्त्र भएको बताए ।

सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाले जनाएको छ ।

संविधानले नचिन्ने दुई दलीय संयन्त्र समेतको सहमतिमा गरिएका यस्ता जनविरोधी कदमबाट देशमा केही गरौँ भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको रास्वपाको ठहर छ ।

आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारक प्रमुख दल र तिनका कहिल्यै नफेरिने पात्रहरूको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अभिछिन्नता नै भएको रास्वपाको भनाइ छ ।

भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको वर्तमान सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपा पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने जारी विज्ञप्तिमा उल्लेख छ ।