|  

रुस र युक्रेनबीच ‘ब्ल्याक सी’र ऊर्जा लक्ष्यमा आक्रमण नगर्ने सहमति

१३ चैत्र, काठमाडौं । रुस र युक्रेनबीच ब्ल्याक सीमा पानीजहाजको सुरक्षित आवतजावत र सैन्य आक्रमण रोक्ने सहमति भएको छ ।

यससँगै दुवै देशले एकअर्काको ऊर्जा आधारमा हुने आक्रमण रोक्न उपायहरू विकास गर्नेछन् । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुवै देश ब्ल्याक सी क्षेत्रमा पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न, बल प्रयोग रोक्न र सैन्य उद्देश्यका लागि व्यावसायिक जहाजको प्रयोग रोक्न सहमत भएका छन् ।

हालै अमेरिकाले रुस र युक्रेनका अधिकारीहरूसँग रुस–युक्रेन युद्धका विषयमा छुट्टाछुट्टै वार्ता गरेको थियो । यी दुवै वार्तामा भएका निर्णयबारे अमेरिकाले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । अमेरिकाले रुस र युक्रेन दुवै व्यापारिक जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न र ‘ब्ल्याक सी’मा सैन्य आक्रमण रोक्न सहमत भएको बताएको छ ।

अमेरिकाले दुवै देशले युद्धबन्दीको आदानप्रदान, पक्राउ परेका नागरिकको रिहाइ र जबरजस्ती रुसमा लगिएका युक्रेनी बालबालिकालाई फिर्ता गराउन सहयोग गर्ने बताएको छ ।