|  

१५ वर्षमुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार

१३ चैत, काठमाडौं । सरकारले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सञ्चालक समिति अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार सहायता दिंंदै आएको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो । यस वर्षको वर्ष पुससम्म ४ सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । 
नेपालमा १ हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।