१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्ष दलका नेताहरुलाई चेतावनी दिएका छन ।
आज काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिपक्षी दलहरुलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गरे । उनले प्रतिपक्ष दलहरुको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो भन्नेकुरा देखिएको टिप्पणी गरे ।
कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो संसदलाई बनाइरहेको भन्दै टिप्पणी गरे । यस्ता किसिमका क्रियाकलापहरु नगर्दा राम्रो हुने बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेख्नुभएको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस’ भन्ने जस्ता शब्दहरु लेखेको देख्दा आश्चर्य लागेको बताए ।