१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरुलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।
आज काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ राजनीतिक दलहरु सिक्दै अघि बढिरहेको पनि बताए । नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्वहरुको संज्ञा दिँदै उनले नयाँ राजनीतिक दलहरुलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे । नयाँ राजनीतिक दलहरुलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरुको पक्षपोषणमा लागेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले आफूहरु धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।