१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन् ।
सरकारले बर्खास्त गरेपछि आज पुनः पदबहालीको माग गर्दै उनी सर्वोच्च अदालत गएका हुन । घिसिङले आफ्नो कानुन व्यवसायीमार्फत रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । ढिलो गरी रिट पेश हुन आएकाले आज हेर्न नभ्याइएको उनले बताए ।
घिसिङले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन । कुलमान बर्खास्तीको विरुद्धमा संसद र सडकमा विरोध भएको छ । विपक्षी दलहरुले प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै सदन अवरोध गरेका छन भने सडकमा पनि स्वस्फुर्त रुपमा आन्दोलन सुरु भएको छ ।