|  

मुस्ताङ घुम्न आएकी अमेरिकी नागरिक अपहरण गरेर साढे ४ करोड फिरौती माग, एक महिला पक्राउ 

१४ चैत्र, काठमाडौं । फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामा रहेकी छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । अमेरिकाकी ७० वर्षीया एक महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् ।उनीसँग लामाको सामान्य चिनजान थियो ।

ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन् । सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई उनले घरमा लैजान्छु भनेर लगिन् ।
तर उनले घर नलगी लुकाएर फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर पठायो ।

कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको हो ।लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेकी थिइन् । लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।