|  

दिउँसो दाइलाई खुकुरी हानेपछि पक्राउ परे, राति भेटियो भाउजुको श#व

१३ चैत्र, काठमाडौं ।  मकवानपुरमा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ ।

उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् ।

घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको छ ।

उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।

घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा रमेशले नै आफ्नी जेठी भाउजुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको  प्रहरीले जनाएको छ । भाउजुको हत्यापछि उनी माइला दाइ रूपेशमाथि जाइलागेका थिए।