आइतवार १७ चैत्र, २०८१  | Sunday 30 March, 2025 

राजावादीहरुको जुलुसमा माओवादी वाइसिएलका सक्रिय सदस्यहरुनै संलग्न, राजावादी र माओवादी नै चकित

१३ चैत्र, काठमाडौं । गएको फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदै गर्दा उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न राजावादीहरुले जुलुस आयोजना गरेका थिए ।

ठूलो संख्यामा राजावादीहरुले पूर्वराजाको स्वागत गरे र उनीहरुले पूर्वराजालाई जुलुसले नै स्कर्टिङ गर्दै निर्मल निवाससम्म गए । आम नागरिकले यसलाई राजावादीहरुकै जुलुस ठाने तर सुरक्षा निकायको अनुसन्धानमा भने त्यहाँ अर्कै तथ्य फेला पारेको छ ।

राजावादीहरुको जुलुसमा माओवादीको भातृ संगठन वाइसिएलका सक्रिय क्याडर सदस्यहरु संलग्न भएको पाइएपछि सुरक्षा निकाय मात्रै होइन राजावादी समूहका अगुवाहरु र माओवादीका नेताहरु समेत चकित परेका छन्।माओवादी गणतन्त्रको मुख्य पक्षधर हो । २०६२–६३ को जनआन्दोलनपछि तत्कालीन प्रमुख राजनैतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले समेत संवैधानिक राजतन्त्रको पक्षमा हुँदा माओवादीले राजतन्त्र हटाउनैपर्ने अडान लिएको थियो ।

केही समय राजतन्त्र फाल्न नहुने अडान लिएका कांग्रेस र एमाले पछि माओवादीको अडानमा सम्झौता गर्न तयार भएका थिए र देश गणतन्त्र घोषणा भएको थियो । माओवादीले गणतन्त्र ल्याउने मुख्य नेतृत्वकर्ता आफू नै भएको दावी गर्दै गर्दा उनको पार्टीकै अर्धसैन्य संगठन वाइसिएलका सक्रिय क्याडर सदस्यहरु राजावादीको प्रदर्शनका सहभागी भएपछि उनका लागि यो टाउको दुखाइको विषय बनेको छ ।

उता राजावादीहरु पनि आफ्नो प्रदर्शनमा कट्टर गणतन्त्रवादी पार्टीको अर्धसैन्य संगठनका सदस्यहरु सहभागी भएको थाहा पाएपछि एकथरी माओवादीभित्रै गणतन्त्र अलोकप्रिय भएको र उसकै सदस्यहरु राजतन्त्र समर्थक आन्दोलनमा सहभागी भएको तर्क गर्दै उत्साहित छन् ।

अर्कोथरी भने आफूहरुको आन्दोलन भाँड्न घुसपैठ भएको हुनसक्ने भन्दै सशंकित छन् । सुरक्षा निकाय समेत यो सहभागिताले अन्योलमा छन् । सुरक्षा निकायसँग राजावादी प्रदर्शनमा सहभागी ती वाइसीएल सदस्यहरुको तस्वीर पनि छ । तस्वीरबाट ती सदस्यहरु पहिले वाइसिएलको काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ जिल्ला कमिटीमा आबद्ध रहेको सुरक्षा निकायले पुष्टि समेत गरेको छ।