|  

 भारतको अनुदान सहयोगमा बन्ने विद्यालयको शिलान्यास

१३ चैत्र, काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने सप्तरीको श्री जनता माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ ।

बुधबार सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवन निर्माण शिलान्यास गरिएको हो । भवनको युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरे।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२.७६ करोड परियोजना लागतमा तीन तले विद्यालय भवन बन्ने नेपालस्थित भारतीय दूतावासको भनाइ छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको  र सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिने पनि दूतावासले जनाएको छ । 

जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन्, जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् ।