१३ चैत्र, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् ।
महामन्त्री शर्माले केही महिनामात्र पदावधि भएको कर्मचारीलाई हटाउन आवश्यक नभएको तर्क गरेका हुन् । अहिले चर्को असन्तुष्टि भइरहेको बेला जनतालाई विश्वासमा लिने कुरातर्फ ध्यान दिनुपर्नेमा उल्टो भएको उनको टिप्पणी छ ।
उनले भने, ‘पार्टीका दुई महामन्त्रीमाथि पनि नागरिक पंक्ति, सामाजिक सञ्जाल र मिडियाहरूबाट हामीले हेरेका छौं । पार्टीको पदाधिकारी बैठकमा पनि हामीले हटाउन हुँदैन भनेर मन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका थियौँ । तर, पनि यो निर्णय भयो । कांग्रेसका मन्त्रीहरू महामन्त्री अन्तर्गत नै हुन्छन् ।’