१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको बताएका छन् ।
आज काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले द्वन्द्वकालका पीडितलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका हुन् । उनले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको पनि जानकारी दिए । सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने उनको भनाइ छ । देउवाले भने, ‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ। पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ । कुनै छलछाम हुनेछैन ।’
सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा देउवाको जोड छ । उनले वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा कटिबद्ध रहेको बताए ।