|  

अब १५ वर्षमुनिका बालबालिकाको मुटु उपचार निःशुल्क हुने

१४ चैत्र, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

मन्त्री पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता उपलब्ध गराउने गरेको छ ।

उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।  यस वर्षको पुस महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रिया सहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।