१४ चैत, काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् ।
आज पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे । उनले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे ।
उनले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे । उनले देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको र हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै अब देशमा कुनै किसिमको डर नरहेको बताए । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गरे । सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताउनु भयो । संविधान प्रदत्त अधिकारहरुमा पनि सबैलाई सहभागी गराइएको बताए ।