|  

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

१४ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन्।

बिहीबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए। उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको बताए।

उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए। उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए। कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरुले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो । सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जवाफदेखी बनाउने थल संसद हो । तर सरकार स्वच्छाचारी ढंगले निरंकुश तरिकाले आफ्नो सुरमा कुसाशन गरिराख्ने परिस्थिति छ, हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टदै आइराखेको थियो पछिल्लो समय जे निर्णय ग¥यो यसका बारेमा के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ । 

प्रधानमन्त्री र सरकार संसदसँग जिम्मेबार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ । सडकभरी जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरु संसदमा उभिएर उहाँको जवाफ माग गरिरहेका छौँ । उहाँले सही तरिकाले बदनियत नराखी काम गरेको हो भने संसदमा उभिएर जवाफ दिन हिम्मत गर्नुपर्ने हो । यहीबाट देखिन्छ कि संसद फेस गर्ने उहाँसँग नैतिक धरातल छैन, उहाँहरुले गलत गरिराख्नुभएको छ । त्यसैले नैतिक हिसाबले इमान्दारीपूर्वक उहाँहरुले गरेका कामकारबाही पुष्टि हुन नसकेका कारण उहाँहरु जवाफ दिन तयार हुनुहुन्न । मन्त्रिपरिषदलेनै गरेको निर्णय भएकाले हामीले प्रधानमन्त्रीकै जवाफ खोजेका छौँ । र प्रधानमन्त्रीले जहिलेसम्म चित्त बुझ्ने तरिकाले तथ्य तथ्यांकका आधारमा जवाफ दिनु हुन्न तबसम्म हाम्रो अवरोध कायम रहन्छ ।’