|  

अब लोडसेडिङ नहुने ऊर्जामन्त्री दीपक खड्काको दाबी

१४ चैत, काठमाडौं ।  भारत नेपाललाई थप बिजुली दिन तयार भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ । इण्डियन इनर्जी एक्सचेन्जबाट थप ६०० मेगावाट विद्युत् दिइने भएको हो । 

उक्त विद्युत् ढल्केवर–मुजफ्फरपुर प्रशारण लाईनबाट नेपालमा आउने भएको छ । हाल भारत जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

नेपालमा सुक्खा याममा हुने विद्युत् समस्याको समाधानका लागि भारत सरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत् उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए । उनले भने, ‘नेपाली जनतालाई २४सै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौँ ।’

नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्ति सँगै लोडसेडिङ हुने हल्ला चलेको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युत्का अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो ।