|  

गलत सूचना फैलाएको भन्दै दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी

१५ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै प्रसाईँविरुद्ध उजुरी परेको हो । आज साइबर ब्युरोमा मायाको पहिचान नेपालले प्रसाईँले दिएको अभिव्यक्ति नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान भएको भन्दै उजुरी दिएको हो । उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईँले नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन् । उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन् । जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो ।’

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तका अनुसार प्रसाईँको अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानुनी कारबाही गर्न, एलजिबिटिआई समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न र नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार र गरिमालाई सुरक्षित राख्न यस भ्रामक सूचना अभियानविरुद्ध तुरुन्तै कारबाही गर्न माग गरिएको हो ।