१५ चैत, काठमाडौं । नेपाली राजदूत हरिषचन्द्र घिमिरेले म्यानमारमा गएको शक्तिशाली भूकम्पबाट नेपालीबारे कुनै अप्रिय सूचना प्राप्त नभएको बताएका छन् ।
आज म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । म्यानमारका लागि नेपाली राजदूत घिमिरेले भूकम्पले एक मिनेटसम्म हल्लाएको बताए । उनले भने, ‘भूकम्पले एक मिनेट नै हल्लायो । सामाजिक सञ्जालहरूमा घरहरू भत्केका तस्बिरहरू राखेको देखिन्छ । भूकम्पले दूतावासमा कुनै क्षति गरेको छैन । यहाँ रहेका नेपालीका सम्बन्धमा पनि हालसम्म त्यस्तो कुनै अप्रिय सूचना आएको छैन ।’
राजदूत घिमिरेका अनुसार, म्यानमारमा डेढ लाखभन्दा बढी नेपाली भाषी छन् ।