१५ चैत, काठमाडौं । राजावादीहरुको आन्दोलनको क्रममा काठमाडौंको तीनकुनेमा घरमा लगाइएको आगजनी काठमाडौं महानगरको दमकलले निभाएको छ ।
आगो नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको गाडी फर्किए पनि आक्रमणकाबीच महानगरको दमकल आगजनी स्थल पुगेको थियो । दमकल चालक र दलका सदस्य घाइते हुनेगरी आक्रमण भए पनि आगो नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ । ‘काठमाडौंको भौतिक सामग्री, घरमा आगजनी र आक्रमण हुनु राम्रो होइन’ महानगरले भन्यो,‘काठमाडौंका जनतालाई सास्ती हुने काम राम्रो होइन, महानगर साथमा छ ।’
काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेपछि उग्र रुप लिएको थियो । आगो निभाउनका लागि काठमाडौं महानगरपालिकाले पठाएको दमकलमाथि आन्दोलनकारीले तोडफोड गरेका थिए । आगजनीपछि प्रहरीले थप बल प्रयोग गरी आन्दोलनकारी तितरबितर पारिरहेकाबीच दमकल आगजनीस्थल पुग्दा अवरोध भएको थियो ।