|  

राजावादी प्रदर्शनकारीलाई हिंसात्मक गतिविधि बन्द गर्न आयोगको निर्देशन

१५ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादी समर्थकहरूलाई हिंसात्मक गतिविधि बन्द गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको भन्दै आयोगले संयमित हुन निर्देशन दिएको हो । प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगले जनाएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीले अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका छन । आयोगले आज साँझ विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीमाथि सांघातिक आक्रमण भएको जनाएको छ ।

आयोगले प्रदर्शनकारीलाई हिंसात्मक गतिविधि बन्द गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ । काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको भन्दै आयोगले संयमित हुन आग्रह गरेको हो । प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्याँस प्रहार गरेको देखिएको आयोगको भनाइ छ । यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।