|  

माओवादी केन्द्रले दियो सर्वदलीय बैठक राख्न सुझाव !

१५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वदलीय बैठक राख्न सुझाव दिएको छ ।

संसदको गतिरोध अन्त्यका लागि भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले यस्तो सुझाव राखेका हुन । पाण्डेले सभामुख देवराज घिमिरे उपस्थित बैठकमा भने,‘भोलि शनिबार छ । पछिल्लो अवस्थाबारे सभामुखले वा प्रधानमन्त्रीले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर अगाडि बढ्दा राम्रो हुन्छ ।’

उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा लगायतका दलका प्रमुख सचेतकहरू समेत थिए । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारको जवाफ माग्दै आएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग छ । संसदका सत्तापक्ष र प्रतिपक्ष आमुनेसामुने भइरहेका बेला सडकमा राजतन्त्र पक्षधरहरूको गतिविधि बढेको छ ।

शुक्रबार समाजवादी मोर्चाले राजधानीमा गणतन्त्रको पक्षमा प्रदर्शन गरेको छ भने राजावादीले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् । राजावादीको प्रदर्शन हिंसात्मक भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पाण्डेले सर्वदलीय बैठक राख्न सुझाएका हुन ।