|  

आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौँ : एकीकृत समाजवादी

१५ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुले गरेको तोडफोड र आगजनीको घोर भत्र्सना गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । 

शुक्रवार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिबारे पत्रकारहरुलाई जानकारी दिँदै महासचिव घनश्याम भुसालले यस्तो बताएका हुन्  । भुसालले पार्टी कार्यालयमा हुनसक्ने सम्भावित दुर्घटनाबारे प्रहरीलाई खबर गरिएको भएपनि समयमै शतर्कता नअपनाएर प्रहरीले घोर लापरबाही गरेको आरोप लगाए ।

उनले अराजक झुण्डले एकीकृत समाजवादीको कार्यालयको झ्याल ढोका तोडफोड गरेर कागजात तथा फर्निचर जलाएको बताए । भुसालले अराजक गतिविधि गर्ने समूहरुमाथि प्रतिकार गर्न र नागरिकको रक्षाप्रति सचेत रहन नागरिक समुदायलाई आग्रह गरे । सरकारलाई  सम्भावित घटनाका बारेमा सूचना भएपनि सुरक्षा व्यवस्था मिलाउन नसकेको प्रष्ट देखिएको उनको भनाइ छ ।

महासचिव भुसालले पार्टीले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै पश्चगमनकारीको अवशेष पनि बाँकी नरहने गरी निर्मुल पार्ने बताए ।