१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनको क्रममा एक जनाको ज्यान गएको छ । राजावादीहरूको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने वर्ष २९ को सविन महर्जनको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयका प्रवक्ता छवि रिजालले राजावादीहरूको आन्दोलनको कमाण्ड दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले क्षतिको जिम्मेवारी लिनुपर्ने स्पष्ट बताएका छन् । गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले ती काम क्षमायोग्य छैनन् । आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानुनी कारबाहीलाई ल्याइने गृहले स्पष्ट पारेको छ ।
आन्दोलनको नाममा आज भएको घटना अमानवीय र निन्दनीय घटना भएको गृह मन्त्रालयले जनाएको छ। आन्दोलनको नाममा आगजनी र लुटपाटका घटना भएको गृहको भनाइ छ । यो कुनै राजनीति आन्दोलन नभएर अमानवीय, हिंसात्मक र आपराधिक कार्य भएको मन्त्रालयको धारणा छ । ।
अब यस्ता प्रकृतिका घटना भए भने सरकार चुप लागेर नबस्ने मन्त्रालयले स्पष्ट पारेको छ । आजको घटनामा संलग्नलाई पक्राउ गरी कानुनको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ । रिजालले भने, ‘सूचनालाई अध्ययन गरेर पूर्वराजाबारे निर्णय लिइन्छ । आजको घटनामा दुर्गा प्रसाईं नै जिम्मेवार हुनुहुन्छ । आजको क्षतिको जिम्मा पनि लिनुपर्छ ।’
अहिलेको दंगामा संलग्न व्यक्ति जहिले पनि पक्राउ परी कारबाही हुन सक्ने उनले बताए । ‘अहिले मानिसहरू छुटिहाले केही हुँदैन भन्ने चाहिँ हुदैन,’ उनले भने, ‘१५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते हुनुभएको छ । कीर्तिपुर–४ का सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सरकारले दोषीमाथि कानुनी कारबाही गरेरै छाड्छ ।’
सहसचिव छवि रिजालले भने, ‘आज निश्चित मिसन भएकाले त्यो लेभलको घटना होला भन्ने अनुमान नभएकै हो । दमकलमाथि आगजनी भएको छ । आगलागी नियन्त्रण गर्न गएको सशस्त्रको गाडी जलाइयो । त्यसैले त्यहाँ समयमै आगलागी नियन्त्रणमा लिन सकिएन । अनुमान गरिएको भन्दा फरक र अराजक भएको हो, भिड चाहिँ ।’