|  

प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनी निन्दनीय : कमल थापा

१५ चैत्र, काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् । बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत थापाले सरकारी दमनको कारण उत्तेजित भिडले तोडफोड र आगजनी गर्न पुगेको टिप्पणी गरेका छन् ।

‘तीनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनु अगावै मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि परिस्थिति अराजक हुन पुगेको हो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, प्रशासन गृह, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ ।’

पूर्वगृहमन्त्रीसमेत रहेका थापाले प्रदर्शनको क्रममा सरकारले दमन गरेको भन्दै भर्त्सना गरेका छन् ।

‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति आज काठमाडौंमा भएको प्रदर्शनको क्रममा सरकारले गरेको दमनको राप्रपा नेपाल भर्त्सना गर्दछ । प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू खेदजनक छन्,’ उनले भनेका छन्, ‘प्रहरीको गोली लागेर कीर्तिपुरका युवा सविन महर्जनले सहादत प्राप्त गरेका छन् । तीनकुनेमा आगो लागेको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको सुन्दा स्तब्ध भएको छु । यो घटनाको जति नै निन्दा गरे पनि कम हुन्छ ।’