१६ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिड्दैछ ।
खेल भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा विहान नौ बजेबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारी दुवैले उपाधि आफैँले जित्ने दाबी गरे । सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा पुलिसले दुई र आर्मीले एक पटक उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो ।
प्रधानमन्त्री कपमा खेलेका नौ खेलमध्ये दुवै टिमले समान आठ खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेका थिए । प्रधानमन्त्री कप पहिलो पटक पूर्ण रूपमा काठमाडौं उपत्यकाबाहिर भएको हो । आर्मी र पुलिसहित एपीएफ र बागमती प्रदेशले मल्टी डे फरम्याटमा हुने जय ट्रफीमा सहभागी हुन पाउनेछन् ।